खेल्कुद

धामी र गौचनको जोडी फाइनलमा

gm61_med.jpg

काठमाडौं :

 नेपाल इन्टरनेसनल सेरिज ब्याडमिन्टन प्रतियोगिताको मिक्स डबल्समा नेपाली खेलाडी दीपेश धामी र शोभा गौचनको जोडीले फाइनलमा स्थान बनाएका छन् । शनिबार भएको सेमिफाइनल खेलमा मलेसियाका इभेसगारन भासिगरन र दर्सिनी भासिगारनको जोडीलाई २-१ को सेटमा पराजित गर्दै धामी र गौचनको जोडीले फाइनलमा स्थान बनाएको हो ।

निकै प्रतिस्पर्धात्मक खेलमा धामी र गौचनको जोडीले २१-१७, १६-२१, २२-२० को जित निकाल्यो । फाइनलमा उनीहरूले भारतका भी देवलेकर र हरिका भेलुदुर्थीको जोडीसँग आइतबार प्रतिस्पर्धा गर्नेछ । शनिबार नै भएको खेलमा भारतीय जोडीले नेपालका दिदीभाइ रत्नजित र नङ्सल तामाङको जोडीलाई २१-१६, २१-७ को सेटमा स्तब्ध बनाए ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा जारी प्रतियोगिताको महिला एकलको उपाधिका लागि हङकङकी तङ चोय छ्वान र इरानकी अघाइहाजिअघाबीच प्रतिस्पर्धा हुने भएको छ । छ्वानले भियतनामकी थी थराङलाई २१-१८, २१-१९ को सेटमा हराइन् । यस्तै अघाइहाजिअघाले म्यानमारकी थेट हतार तुजारलाई २०-२२, २१-१८, २५-२३ को सेटमा स्तब्ध बनाइन् ।

पुरुष एकलमा भने दुई भारतीयबीच उपाधि भिडन्त हुने भएको छ । भारतका एल सारङ र एस जयसवालले आइतबार उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । सारङले भारतकै राहुल भारद्वाज र जयसवालले भियतनामका लि डक फातलाई पराजित गरे । महिला युगलमा पनि भारतीय जोडीबीच नै प्रतिस्पर्धा हुनेछ । फाइनलमा एच भेलुदुर्थी र करिश्मा वाडकर तथा अर्पना बलान र श्रुति केपीबीच प्रतिस्पर्धा हुनेछ । उनीहरूले आफ्नै देशका प्रतिद्वन्द्वीलाई पाखा लगाए । पुरुष युगलमा भने सिंगापुरका डी क्रिसनान्ता र ही योङ काई तेरी तथा मलेसियाका जियन सर्न इयान वङ र ची तियान तानबीच उपाधि भिडन्त हुनेछ ।

नेपाल ब्याडमिन्टन संघको आयोजनामा सञ्चालित पाँचदिने प्रतियोगितामा विभिन्न १९ देशका दुई सय ५० खेलाडीको सहभागिता छ । प्रतियोगितामा नेपालका ३२ खेलाडीले भाग लिएका छन् ।

प्रकाशित मिति : २०७४ पुस ९ गते १२ :  ७