राष्ट्रिय

सभामुखमा ओनसरी घर्ती निर्वाचित

onsari-gharti-magar-final1_med.jpg

काठमाडौँ, २९ असोज: नेपालको संविधान लागू भएपछि व्यवस्थापिका–संसद्को सभामुख पदमा एकीकृत नेकपा (माओवादी)का सांसद् ओनसरी घर्ती निर्विरोध निर्वाचित हुनुभएको छ ।

विसं. २०४६ को प्रजातान्त्रिक परिवर्तनपछि आठौँ सभामुख हुनुभएका घर्ती पहिलो महिला सभामुख पनि हुनुभएको छ ।

व्यवस्थापिका–संसद्को आजको बैठकमा सो पदमा अर्का उम्मेदवार नेपाल मजदुर किसान पार्टीका सांसद अनुराधा थापामगरको उम्मेदवारी फिर्ता भएपछि घर्ती निर्विरोध निर्वाचित हुनुभएको हो । बैठकको अध्यक्षता गरिहनुभएका ज्येष्ठ सदस्य लक्ष्मण राजवंशीले घर्तीको सो पदमा एक मात्र प्रस्ताव कायम रहेकाले निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभयो ।

घर्ती निवर्तमान उपसभामुख हुनुहुन्छ । घर्तीको प्रस्तावकमा नेकपा (एमाले) का सांसद विद्यादेवी भण्डारी र समर्थकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल) का सांसद् कुन्तीकुमारी शाही र बहुजन शक्ति पार्टीका सांसद् विश्वेन्द्र पासवान हुनुहुन्थ्यो । घर्तीलाई प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले पनि समर्थन गरेको थियो ।

ज्येष्ठ सदस्य राजवंशीले घर्ती सो पदमा निर्वाचित भएकोमा बधाई दिँदै सफल कार्यकालको कामना गर्नुभयो । उपसभामुख पदको निर्वाचन संसद्को केहीबेरमा बस्ने अर्काे बैठकमा हुनेछ ।