राष्ट्रिय

केपी ओली  प्रधानमन्त्रीमा निर्वाचित 

KP_Oli_med.jpg

काठमाडौं , असोज २४:
आजको  व्यवस्थापिका संसदमा  केपी शर्मा ओली देशको ३८औं प्रधानमन्त्री पदमा  निर्वाचित भएका छन् ।  कुल सांसद संख्या ५८७ मध्ये ओलीको पक्षमा जम्मा ३३८ र उहाँको प्रतिद्धन्द्धी सुशील कोइरालाको पक्षमा जम्मा २४९ मत परेको छ । 
सङ्घीय गणतन्त्र नेपालको नयाँ संविधान जारी भएपछि नेपालको नयाँ प्रधानमन्त्रीमा नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली निर्वाचित हुनुभएको छ । 
उहाँले खसेको कुल मतमध्ये ओलीले ३३८ मत प्राप्त गर्नुभएको सभामुख सुवास नेम्वाङले घोषणा गर्नुभयो । मतदानमा ५८७ जना सांसद उपस्थित हुनुहुन्थ्यो । 
यस्तै अर्का उम्मेदवार नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले २४९ मत प्राप्त गर्नुभएको छ । 
एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल प्रस्तावक र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापालगायत दलहरुको समर्थनमा ओली मुलुकको ३८औँ प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको हो । 
ओलीको पक्षमा नेकपा (एमाले)का १८३ सांसद, एकीकृत नेकपा (माओवादी)का ८३, राप्रपा नेपालका २५, मधेसी जनअधिकार फोरम नेपाल(लोकतान्त्रिक)का १४ संसदले मतदान गर्नुभएको थियो । 
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीको १२, नेकपा (माले) ५, राष्ट्रिय जनमोर्चाको ३, नेपाल परिवार दलका दुई, राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिकका दुई बहुजनशक्ति पार्टी एक, मधेस समता पार्टी नेपालका एक, नेपाः राष्ट्रिय पार्टी, नेकपा (संयुक्त)का तीन सांसदले पनि ओलीलाई मतदान गर्नुभएको थियो । 
नेकपा(एमाले)का तर्फबाट झापा क्षेत्र नं ७ बाट संविधानसभाको दोस्रो निर्वाचनमा निर्वाचित हुनुभएका ६४ वर्षीय ओली नयाँ संविधान घोषणा भएको २१ दिनपछि प्रधानमन्त्रीमा चयन हुनुभएको हो । 
एमाले, एमाओवादी र मधेसी जनअधिकार फोरम(लाकतान्त्रिक)बीच आजै आठ बुँदे सहमति भएको थियो । रासस