जीवन शैली

स्तन क्यान्सर पहिल्याउन मेमोग्राम

cancer2_med.jpg

मेमोग्राफी एक्सरे गर्ने पद्धति हो । यसले महिलाको स्तनमा क्यान्सर छ या छैन भनेर पहिल्याउँछ । महिलाको स्तनको एक्स—रे गरेर फिल्म निकालिन्छ । त्यो फिल्म पढेर महिलाको स्तनमा क्यान्सर छ वा छैन पत्ता लगाउन सकिन्छ । यो एउटा आधारभूत स्क्रिनिङ टुल्स पनि हो । यसले सुरुवाती चरणको स्तन क्यान्सर पत्ता लगाउन सकिन्छ ।
मेमोग्राम गर्दा स्तनलाई बीचमा पारेर दुईतिरबाट, दुई कोणमा स्तनको एक्स—रे गरिन्छ । एउटा, दायाँ—बायाँतिरबाट स्तनलाई मेमोग्रामले च्यापेर एक्स—रे गरिन्छ । अर्को, स्तनको तल–माथितिरबाट स्तनलाई च्यापेर एक्स—रे गरिन्छ ।  ¬दुईवटा स्तनको एक्स—रे गर्दा दुई— दुईतिरबाट गरी चार कोणबाट मेमोग्राम गरिन्छ ।
सामान्यतः ४० वर्षभन्दा माथिका महिलाको मेमोग्राम गरिन्छ । यसभन्दा कम उमेरका महिलामा मेमोग्राम त्यति प्रभावकारी हुँदैन । कम उमेरका महिलाको स्तनमा बोसोको मात्रा बाक्लो हुन्छ । बाक्लो बोसोका कारण राम्रो रिपोर्ट नआउन सक्छ । त्यसैले ४० वर्षभन्दा कम उमेरका महिलामा मेमोग्राम प्रभावकारी मानिँदैन ।
प्रायः ४० उमेर काटेका महिलामा बढी मात्रामा क्यान्सर देखिने भएकाले पनि ४० काटेका महिलामा मेमोग्राम प्रभावकारी देखिएको हो । चालिसे महिलाको स्तनको मेमोग्राम गर्दा प्रस्ट रुपमा स्तन भित्रका गाँठागुँठी देखिन्छन् । त्यसैले पनि ४० कटेका महिलाले वर्षमा एक पटक मेमोग्राम गर्यो भने क्यान्सरको जोखिमबाट बच्न सकिन्छ ।
कतिपयलाई रेडिएसनको खतरा हुुने भएकाले ४० भन्दा कम उमेरका महिलामा मेमोग्राम नगरिएको हो भन्ने भ्रम छ । मेमोग्राममा रेडिएसनको खतरा हुन्न । रेडियसनको खतरा हुने भएकाले ४० भन्दा कम उमेरका महिलामा मेमोग्राम नगरिएको हैन । कम प्रभावकारी हुने भएकाले मात्रै नगरिएको हो ।
एउटा स्तनमा क्यान्सर भएको छ भने ४० ननाघेका महिलामा पनि अर्को स्तनको मेमोग्राम गरिन्छ । एक्स—रे भन्दा हजार गुणा मेमोग्राम सुरक्षित छ । एक्स—रे भन्दा हजार गुणा कम रेडिएसन हुन्छ मेमोग्राममा । मेमोग्राम गर्दा ०.१ ग्र्रे रेडियसन जान्छ भने अल्ट्रासाउन्डले रेडिएसन नै फाल्दैन ।   
मेमोग्रामले सतप्रतिशत क्यान्सर हो वा होइन भनेर पत्ता लगाउन भने सकिँदैन । मेमोग्राम गरेपछि महिलाको स्तनमा कस्ता किसिमका गिर्खागिर्खी छन् भनेर थाहा हुन्छ ।
मेमोग्राम गर्दा कुनै समस्या देखियो भने बायोप्सी तथा एफएनएसी गरिन्छ । जसलाई टिस्यू डाइग्नोसिस गर्ने भनिन्छ । एफएनएसी तथा बायोप्सी सामान्य डाइग्नोसिस हो । बायोप्सी गरेपछि भने क्यान्सर हो वा होइन भनेर पत्ता लाग्छ । मेमोग्राम नगरी बायोप्सी गर्दा कहाँ समस्या छ भन्ने पनि थाहा नहुन सक्छ ।
बायोप्सी गर्दा घाउ पार्नु पर्ने भएकाले बायोप्सी गर्नु पहिल्यै मेमोग्राम गर्दा राम्रो हुन्छ । मेमोग्राम गरेपछि स्तनभित्र कुनै समस्या देखियो भने बायोप्सी गर्दा राम्रो हुन्छ । त्यसैले चालीसे महिलाले वर्षमा एक पटक स्तन क्यान्सरको जाँच गर्नु राम्रो मानिन्छ ।
मेमोग्राम गर्न बायोप्सीमा जस्तो समय पनि लाग्दैन । आधा घण्टामा मेमोग्राम गर्न सकिन्छ भने बायोप्सी गर्दा समय पनि धेरै लाग्छ । बिरामीलाई दुःख पनि बढी हुन्छ ।
स्तन क्यान्सर पत्ता लगाउने केही पद्धति हुन्छन् । उपाय छन्, जसलाई ट्रिपल एसेस्मेन्ट पनि भनिन्छ । सबैभन्दा पहिले बिरामीको हिस्ट्री लिइन्छ । दोस्रो, इमेजिङ लाइन्छ, जसमा एक्स—रे र अल्ट्रासाउन्ड पर्छन् ।  
इमेजिङ गर्दा ४० भन्दा कम उमेरकालाई प्रायः अल्ट्रा साउन्ड गरिन्छ । सो भन्दा माथिका महिलामा प्र्रायः मेमोग्राम गरिन्छ । एक्स—रे गरिन्छ । तेस्रो, टिस्यु डाइग्नोसिस गरिन्छ । एफएनएसी तथा बायोप्सी गरेर डाइग्नोसिस गरिन्छ ।
मेमोग्राम सामान्य एक्स—रे भन्दा पाँच गुणा धेरै महँगो छ । मेमोग्रामका बारेमा थाहा नभएका कारणले पनि मेमोग्रामको प्रयोग कम भएको हो ।
सरकारी कार्यक्रममा पर्न नसक्नुले पनि यसको कम प्रयोग भएको हुन सक्छ । एउटा मेमोग्राम मेसिनको मूल्य करिब पाँच लाख पर्छ । सरकारी अस्पतालमा दुवै पट्टिको स्तनको मेमोग्र्राम गर्दा करिब १५ सयदेखि दुई हजार लाग्छ । काठमाडौँका वीर अस्पताल, सिभिल अस्पताल, टिचिङ लगायतका सीमित अस्पतालमा मात्रै मेमोग्राम छ ।
यसले तुलनात्मक रुपमा नब्बे प्रतिशतले क्यान्सर पत्ता लगाउँछ । महिलाले स्नतमा गाँठो छ भनेर थाहा पाउँदा सामान्यतः एक सेन्टिमिटरको क्यान्सर फैलिसकेको हुन्छ । स्तन ठूलो छ भने त त्यो पनि थाहा नहुन सक्छ । एक सेन्टिमिटर भन्दा कमका ट्युमर सामान्यतः फैलिसकेका हुँदैनन् । एक सेन्टिमिटर भन्दा कम क्यान्सरकै ट्युमर भए पनि प्रायः पूर्ण रुपमा निको पार्न सकिन्छ । क्यान्सर सुरु नै भएको छ भने पनि एक सेन्टिमिटर पुग्न करिब १५ वर्ष लाग्छ । यदि ६० वर्षको उमेरसम्म क्यान्सर देखिएको छैन भने फैलिन १०÷१५ वर्ष लाग्न सक्छ । त्यसैले ९० वर्षभन्दा धेरै बाँच्ने सम्भावना हुन्छ ।
विभिन्न कारणले स्तन क्यान्सर हुन्छ । वंशाणुगत गुणका कारणले पनि क्यान्सर लाग्छ । वंशाणुगत रुपमा भएको क्यान्सरमा अलि खतरा पनि हुन्छ । महिलाका जिनका कारणले पनि क्यान्सर हुन्छ ।
स्तन क्यान्सरका चरण
स्तनको क्यान्सरलाई विभिन्न चरणमा विभाजन गरिन्छ । स्तनको क्यान्सरको सुरुवाती चरणमा स्तन नजिकको भागमा फैलिन्छ ।
पहिलो स्टेजका क्यान्सरलाई  निको पार्न सकिन्छ । जति चाँडो थाहा पाएर उपचार ग¥यो त्यनि नै धेरै बिरामी बचाउन सकिन्छ । हर्मनल थेरापी, रेडियो थेरापी, केमोथेरापी लगायतका क्यान्सरका उपचार पद्धति छन् ।  
अस्पताल आउनुभन्दा पहिला स्तन क्यान्सर भएको छ वा छैन भनेर थाहा पाउन सकिन्छ । जसलाई सेल्फ ब्रेस्ट एक्जामिनेसन टेक्निक पनि भनिन्छ ।
स्तनको आकार मिलेन, सुन्तलाको बोक्रोजस्तो डिम्पल भयो भने स्तन क्यान्सरको शंका गर्न सकिन्छ । स्तनको निप्पल भित्र पसेको, निप्पल वरिपरिको छाला खुम्चिएको वा गाँठो परेको, निप्पल तलमाथि भएका छन् भने पनि क्यान्सरको शंका गर्न सकिन्छ ।
स्तनमा भएका क्यान्सरका ट्युमर सुरुमा दुख्दैनन् तर कडा हुन्छन् । फैलिएपछि मात्रै दुख्छ । स्तन ठूला भएका महिलाले स्तनमा गाँठा नभेट्न पनि सक्छन् । काखीमा पनि गाँठा भेटिन सकिन्छ ।
मेमोग्रामले डिजिटल रिपोर्ट निकालिन्छ । बिरामीको प्रकृतिअनुसार मेमोग्राम, अल्ट्रासाउन्ड र बायोप्सी तथा एफएनएसी गरिन्छ । जसलाई ट्रिपल एसेस्मेन्ट भनिन्छ । एउटै बिरामीलाई तीनवटै टेक्निक तथा पद्धतिबाट प्रभावकारी रुपमा क्यान्सर पत्ता लाउने पद्धतिलाई नै ट्रिपल एसेस्मेन्ट भनिएको हो  ।
एफएनएसी भनेको सुईको माध्यमबाट स्तन भित्रका ट्युमरमा भएका कोषिका निकालिन्छ । त्यो कोषिकाको जाँच गरिन्छ । एफएनएसी गर्दा रोग पत्ता लागेन भने बायोप्सी गरिन्छ । एफएनएसी तथा बायोप्सी गर्दा सामान्य दुखाईबाहेक असर हुँदैन ।

प्रकाशित मिति: ३१ जेष्ठ २०७५, बिहीबार