राष्ट्रिय

थकाइ नमेट्दै फुन्जोको ल्होत्से आरोहणको तयारी

phunjo-gorkha_20180517055501_med.jpg

 

गोरखा :

चुमनुब्री गाउँपालिका छेकम्पारकी फुञ्जो लामाले बिहीबार बिहान सगरमाथाको सफल आरोहण गरेकी छिन्।आठ हजार आठसय ४८ मिटर अग्लो सगरमाथाको बिहान ६ बजे सफल आरोहण गरेको उनका श्रीमान् धावा ग्याल्जेन लामाले जानकारी दिए।

पायोनियर एड्भोकेटरको व्यवस्थापन तथा पासाङ तेञ्जिङ शेर्पाको पथप्रदर्शनमा उनले सगरमाथाको आरोहण गरेको लामाले जानकारी दिए।

आरोहण सकेर अहिले आधारशिविरमा छिन्। लगत्तै ८,५१६ मिटर अग्लो ल्होत्से हिमाल आरोहण गर्ने लामाले बताए ।उनले भने,'आजदेखि नै उनले‍ ल्होत्से आरोहण सुरु गर्दैछन्।सकेसम्म आजै नै नसके भोलि बिहानसम्म ल्होत्से आरोहण गर्नेछिन्।'

३२ वर्षीय फुञ्जोले यसअघि ८,१८८ मिटर अग्लो चोयू हिमाल आरोहण गरेकी थिइन्। गत भदौमा गोरखामै रहेको ८,१६३ मिटर अग्लो मनास्लु पनि आरोहण गरेकी थिइन्। त्यस्तै ६,८१२ मिटर अग्लो अमाडब्लम, अमेरिकाको सबैभन्दा अग्लो ६,१९० मिटर अग्लो हिमाल डेनाली र लापुछे पनि आरोहण गरिसकेकी छिन्।

गोरखाको चुम उपत्यकामा जन्मेकी फुञ्जो हेलिकोप्टरबाट आरोहीको उद्धार गर्ने काम (लङलाइन रेस्क्यू), हिमालयन पथप्रदर्शक, र रक क्लाइम्बिङ, स्की, टेनिस खेलको व्यवसायिक खेलाडी हुन्। 

सगरमाथा आरोहणको क्रममा गोरखाकी फुञ्जो लामा।
तस्बिर : धावा ग्याल्जेन लामा

 

२०७५ जेठ ३ गते १२:१५ मा प्रकाशित