व्यवसाय

पैसा मात्रै हुनुपर्छ, श्रीमती-आमाबुबा सबै भाडामा पाइन्छ !

Family_med.jpg

दुई वर्षअघि टोकियोका एक जागिरे काजुसिगे निसिदाले ६० वर्षको उमेरमा पार्टटाइम पत्नी र छोरी भाडामा लिए ।

उनको पत्नीको केहि समयअघि मात्रै निधन भएको थियो । त्यसको छ महिनापछि २२ वर्षीया छोरीले पनि घर छोडिन् । शहरको बाहिरी इलाकाको ट्रेन स्टेशन नजिकैको रेष्टुरेन्टमा फेब्रुअरीको एक रात निसिदाले भने, ‘मैले आफूलाई धेरै साहसी मानिस सोचेको थिएँ तर, घरमा एक्लै भएपछि एक्लोपनाले सताउँदो रहेछ ।’

अग्लो कद र ठूलो ज्यानका उनले सुट र खैरो टाइ लगाएका थिए । उनको स्वर गहिरो र भद्र खालको थियो ।

उनी अझै एक कम्पनीको सेल्स विभागमा काम गर्छन् । उनका केही साथीहरु छन्, जोसँग उनी बाहिर खानपान र गल्फ खेल्न जाने गर्छन् । तर, राति उनी सधैं एक्लो ।

उनले समयसँगै आफ्नो समस्या समाधान हुने आश गरेका थिए तर, दिनप्रतिदिन एक्लोपनाले नराम्ररी सताउन थाल्यो ।

त्यसपछि होस्टेस क्लबमा जान थाले । महिलाहरुसँग कुरा गर्न रमाइलो हुन्थ्यो तर, अन्तिममा एक्लै घर जानुपर्थ्यो र पैसा धेरै खर्च गरेकोमा पछुतो लाग्थ्यो ।

त्यसपछि उनलाई पहिले हेरेको एउटा टेलिभिजन कार्यक्रमको सम्झना आयो, जसमा एक वयोवृद्ध महिलाले भाडाका नातीसँग सपिङमा जाँदा रमाइलो भएको उत्साहपूर्वक सुनाएकी थिइन् । ‘उनका नाति भाडाको थिए तर, पनि महिला धेरै नै खुसी थिइन् । त्यो कार्यक्रम ‘फ्यामिली रोमान्स’ नामक परिवार भाडामा उपलब्ध गराउने एजेन्सीको बारेमा थियो,’ निसिदाले सम्झिए ।

त्यसपछि निसिदाले ‘फ्यामिली रोमान्स’लाई सम्पर्क गरे र आफ्नो लागि भाडामा एक पत्नी र छोरीलाई उपलब्ध गराउन माग गरे । अर्डर फर्ममा उनले छोरीको उमेर २२ वर्ष र पत्नी पाँच फिट अग्ली र हल्का मोटी हुनु पर्ने उल्लेख गरे । त्यसको मूल्य ४० हजार येन अर्थात करिब तीन सय सत्तरी डलर थियो ।

भाडाको पत्नी र छोरीसँग उनको पहिलो भेट एक क्याफेमा भयो । भाडाकी छोरी उनको वास्तविक छोरी भन्दा फेसनेबल थिइन् । त्यस्तै भाडाकी पत्नीले उनलाई एक सामान्य अधवैंशे महिलाको रुपमा पहिलो नजरमै प्रभावित बनाइन् ।

भाडाको पत्नीले उनीसँग केके गर्नुपर्छ भनेर सोधिन् ।

निसिदाले आफूलाई पत्नीले कसरी टाउको हल्लाएर कपाल मिलाउँथिन् भनेर देखाए । साथै छोरीले जिस्केर कसरी उनको करङमा घोचिदिने गर्थिन भनेर बताए ।

त्यसपछि उनीहरुले निसिदाले भनेको जस्तै गरे । भाडाको श्रीमतीले उनको श्रीमतीले झैं काजु नामले बोलाइन् र आफ्नो टाउकोलाई हल्लाएर कपाल मिलाइन् । भाडाकी छोरीले पनि उनको छोरीले जस्तै जिस्किएर उनको करङमा घोचिदिइन् । क्याफेमा अरु मानिसहरुले उनीहरुलाई एक वास्तविक परिवार माने ।

निसिदाले दोस्रो भेटको लागि पनि बुकिङ गरे । यसपटक भाडाको पत्नी र छोरी उनको घरमै आए ।

भाडाको पत्नीले उनको पत्नीले बनाउने ओकोनोमियाकी प्यानकेक बनाइन् भने निसिदा छोरीसँग कुराकानी गर्न थाले । त्यसपछि उनीहरुले सँगै खाना खाए र टेलिभिजन हेरे ।

धेरै पटक निसिदाको घरमा पारिवारिक डिनरहरु भए, एकपटक भने निसिदाको पहिलेको पत्नीले मन पराउने मोन्जायाकी प्यानकेक खान उनीहरु बाहिर गए ।

अर्को एक भेट भन्दा पहिले निसिदाले ‘फ्यामिली रोमान्स’लाई आफ्नो घरको साँचो दिए । जब उनी त्यो रात कामबाट फर्किए, घर उज्यालो र न्यानो थियो । उनको पत्नी र छोरीले उनलाई ‘वेलकम होम’ भन्दै स्वागत गरे ।

‘त्यो धेरै नै रमाइलो क्षण थियो’ निसिदाले सम्झिए । निसिदालाई उनीहरुको याद त आँउदैनथ्यो तर, उनीहरुसँग फेरि समय बिताउन पाए रमाइलो हुन्थ्यो भन्ने चैं लाग्थ्यो ।

अझै पनि उनीहरुलाई आफ्नो पत्नी र छोरीको नामले बोलाउने र खाना खान गरी भेटिरहने उनले बताए । उनका अनुसार कहिले काँही उनको भाडाको पत्नीले अभिनय गर्न छोडेर आफ्नो वास्तविक रुपमा पनि प्रस्तुत हुन्छिन् । भाडाको परिवारको घेरालाई तोडेर उनी कहिले काँही आफ्नो वास्तविक पतिको बारेमा गुनासो गर्छिन् र निसिदाले उनलाई सल्लाह दिन्छन् ।

त्यस्तै वास्तविक छोरी जस्तो बन्न भाडाकी छोरीले उनलाई धेरै गुनासो गर्ने गर्थिन् । राम्रोसँग नबोलेको र राम्रोसँग आफ्नो कुराहरु नराखेको गुनासो गर्थिन् ।

एकदिन ‘तपाईको छोरी तपाईको फोन कल कुरेर बसिरहेको छ’ उनले भनिन् । ‘मलाई त्यो वाक्य मनमा गढ्यो र भाडाकी छोरीले कसरी र किन यो कुरा भनिन् सोच्नै सकिँन । उनले वास्तविक छोरीको अभिनय गरिरहेकी थिइन् तर, त्यही समयमा उनले वास्तविक छोरीको रुपमा के महसुस गरिन त्यो पनि भनिरहेकी थिइन्’ काजुसिगे निसिदाले त्यो क्षण सम्झँदै भने, ‘यदि यो साँच्चै बाबुछोरीको सम्बन्ध थियो भने उनले यतिसम्म इमान्दार भएर भन्थिनन् ।’

अन्तिममा निसिदाले आफ्नो छोरीलाई फोन गरे । यदि उनले भाडामा पत्नी र छोरी नलिएको भए उनलाई आफ्नेा धारणा परिर्वतन गर्ने अवसर पाउँदैनथे । केही प्रयासपछि अन्तिममा झगडा गरेर घर छोडेकी छोरीसँग उनको बोलचाल भयो ।

फ्यामिली रोमान्स र युची इसी

आकर्षक सुट पहिरिएको मध्य-तीस उमेरको एक सुन्दर मानिस हामीसँग भेटका लागि सीधै टीभी अन्तर्वार्ताबाट आए । अनुहारको कार्टुनसहित उनको बिजनेस कार्डमा ‘वास्तविकताले दिने आनन्दभन्दा धेरै आनन्दको लागि’ लेखिएको थियो ।

‘फ्यामिली रोमान्स’का संस्थापक युची इसीकाअनुसार उनीहरुले यस्तो रणनीति बनाउँछन्, जसले निसिदाको जस्तो सुखद नतिजा आउँछ । ‘मेरो उद्देश्य समाजमा हाम्रो सेवा कसैलाई पनि आवश्यक नपरोस् भन्ने हो’ उनले भनेका छन् ।

टोकियोमा जन्मिएको इसी चिवामा हुर्किए, जहाँ उनका पिता फलफूलको डिलर थिए र उनको आमा पौडी सिकाउँथिन् । उनी प्राथमिक विद्यालयमा हुँदा उनको साथीहरुले फोनको पैसा तिरेर उनलाई प्राङ्याक कल गर्न लगाउँथे ।

विभिन्न आवाज निकालेर नहाँसेर उनी त्यस्ता कलहरु गर्थे, साथीहरु भने पेट मिचिमिची हाँस्थे । बिसको उमेरमा उनलाई एक ट्यालेन्ट एजेन्सीले मोडलको रुपमा अनुबन्ध गर्‍यो, एउटा फिल्म पनि खेले । वृद्धवृद्धाका लागि केयर गिभरको काम पनि गरे ।

११ वर्षअघि इसीको साथी, एक सिंगल आमाले छोरीलाई राम्रो विद्यालयमा भर्ना गर्न चाहेको तर, विवाहित आमाबुबाका बच्चाहरुलाई मात्रै भर्ना लिने गरेकाले समस्यामा परेको सुनाइन् । इसीले पिताको रुपमा विद्यालयको अन्तवार्ता दिए तर, सफल भएन । किनभने बच्ची उनीसँग धेरै नजिक थिइनन् ।

इसीलाई भने यस्तै समस्यामा परेकालाई सहयोग गर्ने चाहना पलायो । यस्तो खालको सेवा कसैले व्यावसायिक रुपमा सुरु गरेका छन् कि छैनन् भनेर खोज्दै जाँदा भाडामा नातेदार उपलब्ध गराउने एजेन्सी हागेमासी-ताइको वेबसाइटमा उनी पुगे ।

‘म तिमीसँग रमाइलो गर्न चाहन्छु’ भन्ने स्लोगान दिएको हागेमासी-ताइको सुरुवात २००६ मा र्‍युची इचिनोकावाले गरेका थिए । एक पत्नी र दुई छोराका पिता इचिनोकावा जागिरे थिए । केहि वर्षअघि इचिनोकावाले ओसाकाको एक विद्यालयमा उनको छोराको उमेरको आठजना बच्चाहरु चक्कु प्रहारबाट मारिएको खबर सुनेका थिए । त्यस्ता घटनाहरु जापानमा खासै हुँदैनथ्यो र इचिनोकावा विद्यालयको काउन्सिलर बन्ने उद्देश्यले साइकोलोजी कक्षामा भर्ना भए ।

तर, अन्त्यमा इमेलमार्फत परामर्श दिने वेबसाइट सार्वजनिक गरे । त्यसपछि भाडामा परिवार उपलब्ध गराउने सेवा पनि हागेमासी-ताइको नामबाट विस्तार गरे । २६ वर्षीय इसीले पनि सुरुमा हागेमासी-ताइमा आबद्ध भएर काम गर्न थाले । तर, पति वा पिताको भूमिकाको लागि धेरै नै कम उमेरको जस्तो देखिने भएकाले उनको काम धेरै जसो विवाहमा पाहुना बन्ने भयो ।

२००९ मा इसीले आफ्नै कम्पनी सुरु गरे । कम्पनीको लागि सम्झिन सजिलो हुने नाम खोज्दै जाँदा उनले सन् १९०९ मा फ्रेडले लेखेको निवन्ध ‘द फ्यामिली रोमान्स अफ न्युरोटिक्स’बाट आफ्नो कम्पनीको नाम जुराए । इसीले अहिले ‘फ्यामिली रोमान्स’को साथमा ट्यालेन्ट एजेन्सी र टेक कम्पनी चलाउँछन् ।

भाडामा नातेदार वा परिवारका सदस्य उपलब्ध गराउन उनले १२०० फ्रिलेन्स एक्टरहरुको डाटाबेस राखेका छन् । फ्यामीली रोमान्सको कमाइ करिव ७० प्रतिशत विवाहबाट प्राप्त हुन्छ भने बाँकी निसिदाको जस्तो व्यक्तिगत सम्बन्धबाट ।

इसी २००९ मा मात्रै १०० जति महिलाहरुका लागि भाडाको पति बनेका थिए । उनले करियरको सुरुवाती समयमा एकैपटक दश परिवारसँग भाडाको नाता निभाइरहेका थिए । यसरी धेरै काम गर्दा गाह्रो भयो अनि एक एक्टरले एकपटकमा पाँच भन्दा धेरै भूमिका नखेल्ने नीति बनाए । ‘फ्यामिली रोमान्स’का संस्थापक इसी भन्छन्, ‘यो कामको ठूलो खतरा भनेको ग्राहकको निर्भरता हो ।’

महिलाहरु भाडाका पतिसँगै बिहे नै गर्छन्

उनकाअनुसार भाडाको श्रीमान खोज्ने करिव ४० प्रतिशत महिलाले अन्तिममा साँच्चै विवाहको प्रस्ताव ल्याउँछन् । पुरुष ग्राहकको हकमा भने यस्तो खासै हुँदैन, किनभने भाडाको श्रीमतीहरु सुरक्षाको कारणले पुरुषको घरमा खासै जाँदैनन् ।

सामान्यतया भाडाको श्रीमतीहरु ग्राहकसँग एक्लै जाँदैनन् र हात समाउने बाहेकको शारीरिक सम्बन्धपनि राख्न पाँइदैन ।

टोकियामा मैले ‘फ्यामेली रोमान्स’ र ‘हागेमासी-ताइ’ दुवैमा आबद्ध एक्टरहरुसँग भेटेँ । विवाहमा, आध्यात्मिक सेमिनार, जागिरको मेला, स्ट्यान्डअप कमेडी प्रतियोगिता र टिन आइडलको एल्बम रिलिजमा पनि उनीहरुले काम गरेका थिए ।

मैले भेटेकी एक एक्टरले एक पुरुषको भाडाकी पत्नीको रुपमा सात वर्ष काम गरेकी थिइन् । किनभने ती पुरुषको वास्तविक पत्नीको तौल बढी थियो । त्यसैले पतिले आफ्नो साथीहरुसँग बाहिर जानका लागि पत्नी भाडामा लिए ।

तिनै एक्टरले बच्चाहरुको भाडाको आमा भएर धेरै विद्यालयको कार्यक्रममा गएकी थिइन् । किनभने धेरै तौल भएका बाबुआमाको बच्चालाई स्कुले साथीहरुले जिस्काउँथे ।

इचिनोकावा र इसीले मलाई यस्ता धेरै कथाहरु सुनाए । एक गर्भवती महिलाले आफ्नो ब्वाइफ्रेन्डलाई बच्चा स्विकार गराउन आमा भाडामा लिइन् ।

त्यस्तै एक भर्खरको केटाले उनको गर्भवती महिलाको आमाबुबालाई मनाउनको लागि बुबा भाडामा लिए ।

हागेमासी-ताइका एक ग्राहकले आफ्नो विवाह हुन लागेकी पत्नीलाई आमाबुबाको निधन भइसकेको जानकारी दिन चाहेनन्, त्यसैले भाडामा आमाबुबा खोजे ।

विवाह गर्न आमाबुबाले धेरै दबाब दिए भने पनि धेरै युवतीहरुले ब्वाइफ्रेन्ड भाडामा लिन्छन् । यदि आमाबुबाले ब्वाइफ्रेन्डसँग फेरि भेट्न माग गरे भने उनीहरुले केही बहाना बनाउँछन् । तर, कहिलेकाँही आमाबुबाले मान्दैनन र परिस्थिति जटिल बन्छ । इशीका अनुसार उनले वर्षमा दुई वा तीनपटक पुरै नक्कली विवाह गराउँछन्, जसको मुल्य पाँच मिलियन येन करिब ४७ हजार डलर पर्छ ।

(द न्युओर्करको लागि बाटुम्यानले लेखेको लेखमा आधारित)

२०७५ जेठ २ गते १:०५ मा प्रकाशित