राष्ट्रिय

माओवादी नेताको घरमा एमाले स्थायी समिति बैठक

uml-standing-committee_med.jpg

काठमाडौँः नेकपा माओवादी केन्द्रसँगको एकता प्रक्रियालाई निचोडमा पु¥याउन अहिले नेकपा एमाले स्थायी समितिको बैठक ललितपुरको मानभवनमा बसिरहेको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डनिकट निर्माण व्यवसायी तथा नेता शारदाप्रसाद अधिकारीको घरमा केही बेरअघिबाट एमाले स्थायी समितिको बैठक बसिरहेको हो ।

जनयुद्धको समयदेखि नै माओवादीमा सक्रिय अधिकारीको घरैमा बुधबार मध्यान्ह आधा घण्टासम्म एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच वान टु वान वार्ता भएपछि एमाले स्थायी समितिको बैठक बसिरहेको हो ।

फराकिलो कम्पाउन्डसहितको मानभवनस्थित अधिकारीको घरमा नेताहरुलाई आफ्ना सवारी साधन पार्किङ गर्न सजिलो छ भने पत्रकारहरुले पनि सहजै पहुँच नपुर्पा‍उने भएकाले दुई नेताबीच त्यहाँ बैठक हुने गरेको थियो ।

दुवै दलको बैठक पनि त्यही घरमा बस्न लागेको हो । माओवादी केन्द्र पदाधिकारीको बैठक पनि त्यही घरमा बस्ने बताइएको छ । स्रोतका अनुसार एमालेका स्थायी समितिको यो बैठकले माओवादीसँगको एकतालाई अघि बढाउन आवश्यक निर्णय गर्ने भएको छ ।

एमाले अध्यक्ष ओलीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार आजै दुई पार्टीबीचको एकता संयोजन समितिको बैठक पनि बस्दैछ । त्यस बैठकले दुई पार्टीबीचको एकतालाई अन्तिम रुप दिने भएको छ ।

बुधवार, फागुन २, २०७४