व्यवसाय

होटल एभरेस्टको सेयर विवाद सर्वोच्चबाट सुल्झियो

everest2_med.jpg

काठमाडौं :

सर्वोच्च अदालतले काठमाडौंमा नयाँ बानेश्वरस्थित पाँच तारे होटल एभरेस्टको सेयर मशकुर अहमत लारी र नज्मा मस्कुर अहमद लारीको हुने फैसला सुनाएको छ।

प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले पुनरावेदन अदालत पाटनको फैसला सदर गर्दै आइबार उक्त फैसला सुनाएको हो। अन्तिम फैसलाको पूर्ण पाठ आउन बाँकी रहे पनि होटल संस्थापक मकबुल अहमद लारीका छोरा मुजफ्फर अहमद लारीले सेयर नपाउने भएका छन्।

सर्वोच्चको फैसलापछि सेयर विवादका कारण बन्द रहेको होटल पुनः सञ्चालन गर्ने बाटो खुलेको छ। भारतीय नागरिक लारी परिवारको लगानीमा ४७ वर्षअघि यो होटल निर्माण भएको थियो। सन् १९८१ देखि एभरेस्ट होटल सञ्चालनमा आएको हो। प्रारम्भमा मकबुल अहमद लारीले होटेल दर्ता गरे। त्यसपछि मकबुलले होटेलको आधा स्वामित्व आफ्ना भतिज मसकुर अहमद लारीको नाममा हस्तान्तरण गर्दै व्यवस्थापनको जिम्मा लगाए। मकबुलको २०६१ जेठ ४ गते निधनपछि होटलको स्वामित्वमा विवाद सुरु भयो। मकबुलका छोरा मुजफ्फर अहमद लारीले बाबुको नाममा रहेको सेयर पाउनुपर्ने माग गरेपछि स्वामित्वको विवाद सुरु भएको हो।

मकबुलको नाममा रहेको सेयर भतिज मशकुरले किर्ते गरेर लिएको भन्दै छोरा जुब्फर अहमदले सुरुमा काठमाडौं जिल्ला अदालतमा मुद्दा हाले। जिल्ला र पुनरावेदन हुँदै सर्वोच्च पुगेको उक्त मुद्दामा अन्ततः सेयर स्वामित्व भतिज मशकुर र उनकी पत्नी नज्माकै नाममा हुने फैसला भएको छ। उद्योग विभागबाट सञ्चालन स्वीकृति लिएर लारी परिवारले होटलको स्वामित्व लिएको थियो। मूल लगानीकर्ता मकबुल रहे पनि उनका छोरा मुजब्फर, भतिजा मस्कुर र भतिजकी पत्नी नज्मा मस्कुर अहमद लारीबीच २५ वर्षदेखि सेयरमा किचलो थियो। बुबा मकबुलको नामको सेयर आफ्नोमा सार्न खोजेपछि मुद्दाको रूप लिएको थियो। बाबुको सेयरमा आफ्नो हिस्सा लाग्ने दाबी उनीहरूको थियो। यता हिस्साबिनै दोस्रो पक्षको नाममा नामसारी भएको दाबीसहित मस्कुरले कीर्ते जालसाजी भएको दाबीसहित जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए।

मस्कुर र नज्माले २०५२ सालमै काका मकबुलबाट सेयर खरिद गरिसकेको कागज अदालतमा पेस गरेका छन्। उनीहरूका नातेदारसमेत रहेका मकबुल जिवित हुँदै सेयर खरिदबिक्री भएको जिकिर मस्कुर र नज्माको थियो। सेयर कीर्ते रहेको दाबीसहित मुजफ्फर अदालतमा पुगेका हुन्। तर, जिल्लाबाट हारेपछि उनी फेरि पुनरावेदन अदालत पाटन पुगे। पाटनबाट पनि हारेपछि मुजफ्फर २०६९ साउन २६ मा फेरि सर्वोच्च पुगे।

सर्वोच्चले मस्कुर र उनकी पत्नी नज्माले नामसारी गरेको कागजपत्रलाई जिल्ला र पुनरावेदनको फैसला अनुरुप नै ‘कीर्ते’ नभई ‘सद्दे’ ठहर गरेको छ।

कम्पनीको कुल सेयर संख्या ८४ लाख ५९ हजार कित्ता छ। यसमध्ये ५९ लाख ३४ हजार १०० कित्ता बुवा मकबुलको नाममा थियो। नज्मासँग २० लाख ५७ हजार १०० कित्ता थियो। मकबुलले २०५२ सालमै ११ लाख ९९ हजार कित्ता सेयर मस्कुर र ४ लाख ६४ हजार कित्ता नज्मालाई बेचेका हुन्। सर्वोच्चको फैसलापछि १३ वर्षदेखिको एभरेस्ट स्वामित्व विवादले किनारा लागेको छ।

प्रकाशित मति : २०७४ माघ २३ गते २ : २७